राष्ट्रपति रामचन्द्र : विगत र वर्तमान
पौडेल पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ पुस २ गते प्रतिनिधिसभाsf सभामुखमा निर्वाचित भएका थिए।
काठमाडौं, फागुन २९ : राष्ट्रपति रामचन्द्र पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा भएको हो। उनकी श्रीमती सविता पौडेल तथा चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन) छन्।
मध्यमवर्गीय किसान परिवारमा जन्मेका पौडेलको स्थायी बसोबास तनहुँको व्यास-८ बेलथुम्की हो । हाल काठमाडौँ महानगरपालिका-१६ बोहोराटारमा बस्दै आएका पौडेलले शास्त्री (संस्कृत साहित्य, २०२४०) र स्नातकोत्तर तह (नेपाली साहित्य २०२७) उत्तीर्ण गरेका छन्। पौडेललाई अध्ययनशील, बौद्धिक, सादगी, जुझारु एवम् संघर्षशील व्यक्तिका रूपमा लिइन्छ।
२०१६ सालमा पोखरामा हिमालयन छात्र संघ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ जेठ-असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनका लागि प्रतिनिधि भएका थिए। २०१७ पुस १ गते जननिर्वाचित संसद् भंग गरी प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखिएकामा त्यसको विरोध गर्दै पौडेल प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका हुन्।
२०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतले २०१९-२०२० सालमा भएको उपत्यकाव्यापी विद्यार्थी आन्दोलनमा र २०२०-२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पौडेल गिरफ्तार भएका थिए।
नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६) को जिम्मेवारी सम्हालेका पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार-प्रसार गर्न गठित कांग्रेस तनहुँ जिल्ला समितिको संयोजक (२०३७), कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख (२०४०) र २०४३ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय महामन्त्री (२०६२-२०६४), केन्द्रीय उपसभापति (२०६४-२०७२) र कांग्रेस संसदीय दलको नेता (२०६४-२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेस पार्टीको कार्यवाहक सभापति भएका थिए।
भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोग्नुभएका पौडेल विद्यार्थी आन्दोलनका क्रममा पटकपटक गिरफ्तार भएका थिए। विद्यार्थी आन्दोलनसहित नेपाली कांग्रेस पार्टीको जिल्लादेखि केन्द्रसम्म विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा पौडेलले १४ वर्षभन्दा बढी जेलजीवन व्यतीत गरेका थिए।
पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४ र २०७० सालमा लगातार प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्।
पौडेल पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, २०४९ सालमा कृषिमन्त्री र २०५१ पुस २ गते प्रतिनिधिसभाsf सभामुखमा निर्वाचित भएका थिए। उनले २०५६ साल र त्यसपछि उपप्रधानमन्त्री तथा सूचना सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै शान्ति समितिको संयोजक (२०६१-२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३-२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४-२०७०) समेत जिम्मेवारी सम्हालेका थिए।
पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान (सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्।
यसैगरी, सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन्।











