रामसहायलाई समर्थन गर्दै प्रमिलाकुमारीद्वारा उम्मेदवारी फिर्ता
उनले आज (सोमबार) एक विज्ञप्ति जारी गरेर उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन्।
काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन्।
राष्ट्रिसभा सदस्यसमेत रहेकी उनले उनले आज (सोमबार) एक विज्ञप्ति जारी गरेर उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन्। उनले उपराष्ट्रपतिमा आफ्नै पार्टीबाट उम्मेदवार रहेका सांसद रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरेकी छन्।
‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक सधैँ समर्पित रहने शालीन स्वभावका, सादा जीवन, निष्कलङ्क एवम् स्वच्छ छवि र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता रामसहाय प्रसाद यादव, उप–राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिबद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’
उनले स्वच्छ छवि र उच्च विचारका रामसहाय यादवलाई समर्थन र सहयोग गर्न पनि सबैसँग अपिल गरेकी छन्। उनले अब आफ्नो उम्मेदवारी प्राविधिक रुपमा मात्रै रहेको जानकारी गराउँदै रामसहायलाई समर्थन गरेको जनाएकी छन्।
‘गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुभएका पूर्वमन्त्री जसपा, नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरङ्कुश शासन प्रणालीका विरुद्ध लोकतन्त्र स्थापनका लागि त्याग र सङ्घर्ष गर्नुभएको अग्रज नेता हुनुहुन्छ,’ उनले भनेकी छन्।












