Kathmandu Press

शीतलनिवासबाट बिदा भइन् निवर्तमान राष्ट्रपति भण्डारी 

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।
शीतलनिवासबाट बिदा भइन् निवर्तमान राष्ट्रपति भण्डारी 
तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, फागुन २९ : निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट बिदा भएकी छन् । 

नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरे। निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गरेका थिए ।

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कार्तिकमा निर्वाचित भएकी थिइन् । पहिलो कार्यकाल करिब २२ महिनाको रहेको थियो । उनी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।

शीतलनिवासबाट उनी बालुवाटारस्थित छोरी उषाकिरणको घरमा बस्ने छिन् । बुढानीलकण्ठस्थित भण्डारीको निजी निवासको मर्मतसम्भार नसकिएका कारणले तत्कालका लागि भण्डारी छोरीका घरमा बस्ने भएकी हुन् । बुढानीलकण्ठको घरको मर्मत सम्पन्न भएलगत्तै उनी सोही घरमा सर्नेछिन् । 

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्