संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न गृहकार्यमा गरिरहेका छाैं : प्रधानमन्त्री प्रचण्ड
देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने दायित्व रहेको उनले बताए।
काठमाडाैं, फागुन २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन्।
काठमाडौंको पद्मोदय माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमका प्रधानमन्त्री प्रचण्डले उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने दायित्व रहेको उनले बताए।
उनले शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ भएको तथ्यलाई सवैले आत्मसाथ गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री प्रचण्डले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे।
उनले विश्वबजारमा प्रतिस्पर्धा गर्नयोग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक रहेको पनि बताए।