Kathmandu Press

आशिफको अर्धशतकमा पीएनजीविरुद्ध नेपालको सहज जित 

९६ रनको झिनो लक्ष्य पछ्याएको नेपाल पीएनजीविरुद्ध ९ विकेटले विजयी भएको छ ।
आशिफको अर्धशतकमा पीएनजीविरुद्ध नेपालको सहज जित 

काठमाडौं, फागुन २९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सहज जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९६ रनको लक्ष्य पछ्याएको नेपाल ९ विकेटले विजयी भएको हो । नेपालले ७.४ आभेर खेल्दै एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । 

नेपालको सहज जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे । २१ बल खेलेका आशिफले विस्फोटक ब्याटिङ गर्दै ८ चौका र ३ छक्काको मद्दतबाट अविजित ५३ रन बनाए। अर्का ओपनर कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३३ रन बनाए । उनी तेस्रो ओभरको तेस्रो बलमा आउट भएका थिए । कुशललाई पीएनजीका चाँद सोपरले आउट गरेका थिए । 

कुशलको विकेट पछि क्रिजमा आएका कुशल मल्लले अविजित १२ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजी ३२ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटिएको थियो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । त्यस्तै सेसे बउले १८ रन, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन बनाउन सकेनन्।  

पालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले पीएनजीका कप्तान असद भाला, सेसे बउ, चार्ल्स अमिनीजस्ता महत्वपूर्ण ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएका थिए । त्यस्तै हिला भेर र सेमो कमियालाई बोल्ड गरेपछि पीएनजी ९५ रनमा अलआउट भएको हो ।

ललित राजवंशीले ले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।

नेपालले जारी सिरिजको अन्तिम खेल युएईसँग चैत २ गते खेल्नेछ । सो खेलमा जित निकाले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ।

प्रकाशित मिति: १२:५६ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्