सन्दीपको घातक बलिङमा सस्तोमै समेटियो पीएनजी, नेपाललाई ९६ रनको लक्ष्य
टस जितेर फिल्डिङमा उत्रिएको नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए।
काठमाडौं, फागुन २९ : लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा पपुवा न्युगिनी (पीएनजी) सस्तो रनमा समेटिएको छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा पीएनजी ३२ ओभरमा ९५ रन बनाउँदै अल आउट भएकाे हाे।
टस जितेर फिल्डिङमा उत्रिएको नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले पीएनजीका कप्तान असद भाला, सेसे बउ, चार्ल्स अमिनीजस्ता महत्वपूर्ण ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएका थिए । त्यस्तै हिला भेर र सेमो कमियालाई बोल्ड गरेपछि पीएनजी ९५ रनमा अलआउट भएको हो ।
ललित राजवंशीले ले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।
पीएनजीका चार जना ब्याट्सम्यानले २० भन्दा कम स्कोरमा दोहोरो अंकको रन बनाए । कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । त्यस्तै सेसे बउले १८ रन, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।
नेपालले आजको खेल र बाँकी रहेको एक खेलमाजित निकाले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ।
जारी सिरिजमा नेपालले अन्तिम खेल चैत २ मा युएईसँग खेल्नेछ।











