उपराष्ट्रपतिमा आधिकारिक उम्मेदवार टुंगाे लगाउन सत्ता साझेदार दलहरुको बैठक जारी
सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी (जसपा) बाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ।
काठमाडौं, फागुन २८ : उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको सिंहदरबारमा बैठक बसिरहेको छ।
सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी (जसपा) बाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ। जसमा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव छन् भने जनमतबाट ममता झा छिन्। उनीहरु सबैको उम्मेदवारी कायम रहेको छ। एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।
आधिकारिक उम्मेदवार एकजना मात्र कायम गर्ने प्रयासमा दलहरु रहेका छन्। शनिबार बसेको १० दलको बैठकले एकजना मात्र उम्मेदवार टुंगो लगाउने प्रयास गरेको थियो। तर जनमतले ममता झाको पक्षमा अडान लिएको थियो। त्यसैगरी निर्वाचन आयोगले महिला नै उम्मेदवार हुनुपर्ने आशय व्यक्त गरेपछि जसपाले रामसहाय र प्रमिलाको उमेदवारी दर्ता गराइएको थियो।
निर्वाचन अधिकृतको कार्यालयले आज (आइतबार) दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ। आजै ५ बजे अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ। उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ।











