Kathmandu Press

रोहितको उत्कृष्ट ब्याटिङमा युएईलाई २४९ रनको लक्ष्य

कप्तान रोहित पौडेलले ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रन बनाए ।
रोहितको उत्कृष्ट ब्याटिङमा युएईलाई २४९ रनको लक्ष्य

काठमाडौं, फागुन २८ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा ओपनर आशिफ शेख र कुशल भुर्तेललाई गुमाएको थियो । आशिफ दोस्रो ओभरमा शून्य रनमै आउट हुँदा कुशल भुर्तेल चौथो ओभरमा ८ रन बनाउँदै पवेलियन फर्केका थिए । 

आशिफको विकेटपछि क्रिजमा आएका कुशल मल्ल सातौं ओभरमा आउट हुँदा नेपाल दबाबमा थियो । चौथो ओभरमा कुशल भुर्तेलको विकेटपछि क्रिजमा आएका कप्तान रोहित कुमार पौडेलले उत्कृष्ठ पारी खेल्दा नेपाल पुनः लयमा फर्किएको थियो । 

कुशल सातौं ओभरमा आउट भएपछि त्रिजमा आएका भीम सार्कीले कप्तान रोहित पौडेलसँग उत्कृष्ठ साझेदारी निभाएका थिए । ३७ बल खेलेका सार्कीले  ४ चौका प्रहार गर्दै व्यक्तिगत २९ रनको योगदान गरे । 

कप्तान पौडेलले आजको खेलमा आफ्नो आठौं ओडिआई अर्धशतक पूरा गरे। उनले  ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रन बनाएपछि नेपाल खेलमा पुनरागमन ग¥यो । त्यस्तै आरिफ शेखले ४३ रन बनाएपछि नेपाल क्रमशः बलियो अवस्थामा पुगेको थियो । 

गुल्सन झा र दिपेन्द्र सिंह ऐरिको विस्फोटक ब्याटिङमा नेपालले २०० रनको योगफल पार गरेको थियो । झाले   ३२ बलमा ३७ रन बनाउँदा १ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै  १९ बल खेलेका दिपेन्द्र सिंह ऐरीले  १९ बलमा  ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बलिङतर्फ युएईका आयान अफ्जल खान, जहुर खान, रोहन मुस्ताफा र जहर फरिदले दुईदुई विकेट लिए । त्यस्तै आर्यन लाक्रा र जुनेद सिद्धिकीले एकएक विकेट लिए । 

प्रकाशित मिति: १३:३० बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्