Kathmandu Press

विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ : उपाध्यक्ष सापकोटा

विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ : उपाध्यक्ष सापकोटा

जनकपुरधाम, फागुन २७ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन।

शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले देशमा प्राप्त राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउन विभिन्न प्रयासहरू जारी रहेकाले त्यसका विरुद्ध जनमत बनाइराख्न सबै सचेत नेपालीले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादीबीच विसं २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार सङ्क्रमणकालीन न्यायका विषय टुङ्ग्याउन ढिला भए पनि तत्सम्बन्धी मुद्दालाई शान्ति सम्झौताअनुसार अगाडि बढाउनुको विकल्प नरहेको बताए।

'विस्तृत शान्ति सम्झौताको मर्मअनुसार अन्तरिम संविधान, २०६३ र नेपालको संविधानले गरेको व्यवस्थाबाहेक सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयहरू अन्य तरिकाले हेर्न मिल्दैन,' उपाध्यक्ष सापकोटाले भने, 'अन्य तरिकाले हेर्न थालियो भने शान्ति प्रक्रियालाई असर पुर्‍याउँछ । पछिल्लो परिवर्तनका लागि बलिदानी दिएका नेपाल आमाका छोराछोरीहरूको योगदानको अपमान हुन्छ । त्यसैले प्रतिकूल असर पार्ने गरी कुनै काम नगर्न म सबैलाई आग्रह गर्दछु ।'

साथै उनले विस्तृत शान्ति सम्झौतामा सत्य, निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुङ्ग्याउने भनिएकाले सोहीअनुरुप बाँकी काम चाँडै निष्कर्षमा पुर्‍याउन लाग्नुपर्नेमा जोड दिए । द्वन्द्वकालका घटनाहरूसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता गरेर समस्याको निकास नहुने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति: १९:२० बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्