Kathmandu Press

पशुपतिनाथ मन्दिर क्षेत्रमा बृहत् सरसफाइ अभियानको सुरुआत

सरसफाइ अभियानमा पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारीको सहभागिता थियो।
पशुपतिनाथ मन्दिर क्षेत्रमा बृहत् सरसफाइ अभियानको सुरुआत

काठमाडौं, फागुन २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा बृहत् सरसफाइ अभियानको सुरुआत गरेका छन्। अभियान तीन महिनासम्म जारी रहने मन्त्री किराँतीले जानकारी दिए।

पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने निर्देशनानुसार आजबाट बृहत् सरसफाइ गरिन लागिएको हो। मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सरसफाइमा सहभागिताका लागि निर्देशनसमेत दिएको छ।

आजको सरसफाइ अभियानमा पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारीको सहभागिता थियो।

यसैगरी पर्यटन बोर्ड, हनुमानढोका दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, पाटन दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थान प्रतिष्ठान, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारीसमेत सहभागी भएका हुन्।

 

साे अवसरमा मन्त्री किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताए। आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्नेमा उनले जाेड दिए।

आफ्नो मन्त्रालयअन्तर्गतका सबै निकायलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सोअनुसारको काम नभए कारबाही गर्ने समेत मन्त्री किराँतीले चेतावनी दिए।

अबको तीन महिनासम्म हरेक शनिबार बिहान ८ देखि १० बजेसम्म मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।  

प्रकाशित मिति: १७:४४ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्