Kathmandu Press

साझा उम्मेदवारका लागि ममताजीकाे पक्षमा निर्णय नभए मित्रवत् प्रतिस्पर्धा : सिके राउत

उपराष्ट्रपतिको उम्मेदवार ममता झाले पनि संविधानकाे भावनालाई जीवित राख्न मधेसी महिलाको तर्फबाटआफूले उम्मेदवारी दिएको बताइन्।
साझा उम्मेदवारका लागि ममताजीकाे पक्षमा निर्णय नभए मित्रवत् प्रतिस्पर्धा : सिके राउत

काठमाडौं, फागुन २७ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन् ।

आज (शनिबार) आफ्नो पार्टीका तर्फबाट उपराष्ट्रपतिमा ममता झाको उम्मेदवारी दर्ता गराइसकेपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवारका लागि छलफल जारी राख्ने समझदारी भएको बताए।

उनले गठबन्धनबाट ममता झा नै साझा उम्मेदवार बन्नेमा समझदारी बन्न सक्ने दाबी गरे। ‘भोलिसम्म समय छ। मलाई पूरा विश्वास छ, साझा उम्मेदवारका लागि ममताजीकै पक्षमा निर्णय हुनेछ,’ उनले भने। जनमत पार्टीको उम्मेदवारमा सहमति नजुटे मित्रवत् प्रतिस्पर्धा हुने उनको भनाइ थियो।

निर्वाचन आयोगले पनि उपराष्ट्रपतिमा महिला उम्मेदवार नै हुनुपर्ने आशय व्यक्त गरेको उनले स्पष्ट पारे।  ‘हाम्रो उम्मेदवार  हरेक दृष्टिकोणबाट सशक्त, संविधानको रक्षाका लागि तत्पर हुनुहुन्छ। उहाँसँग कानुनी पृष्ठभूमि पनि छ,’ उनले भने, ‘हामीलाई पूर्ण विश्वास छ, उहाँले जित्नुहुन्छ। हाम्रो बटमलाइन भनेको मित्रवत् प्रतिस्पर्धा हो।’

उपराष्ट्रपतिको उम्मेदवार ममता झाले पनि संविधानकाे भावनालाई जीवित राख्न मधेसी महिलाको तर्फबाटआफूले उम्मेदवारी दिएको बताइन्। सत्तारुढ गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी (जसपा) ले रामसहायप्रसाद यादव र प्रमिला कुमारीलाई र एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छन्।

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्