उपराष्ट्रपतिका चार उम्मेदवारमध्ये कसले कसले के भने?
शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सत्ता गठबन्धनका तर्फबाट तीन जना र एमालेका तर्फबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
काठमाडौं, फागुन २७ : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि चार जनाको उम्मेद्वारी परेको छ।
शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सत्ता गठबन्धनका तर्फबाट तीन जना र एमालेका तर्फबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन्। उपराष्ट्रपति पदमा नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। शाक्यको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् भने समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल,भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन्।
एमालेको उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार सक्षम रहेको प्रतिक्रिया दिए। त्यस्तै उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउन आफूले उम्मेदवारी दर्ता गराएको बताइन्। उनले आफूलाई सवैको सहयोग हुने बताइन्।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन्। उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने बताए।
त्यस्तै जसपाबाटै उम्मेदवारी दिनुभएकी प्रमिला कुमारीको प्रस्तावकमा सांसदहरु रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनीष सुमन छन्। उम्मेदवारीपछि प्रमिला कुमारीले आफ्नो उम्मेदवारी जित्नका लागि भएको भन्दै पार्टीभित्रको निर्णयका अनुसार उम्मेदवारी दिएको बताइन्।
त्यस्तै जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी छन्। झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन्र। उम्मेदवारीपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले आफुहरुको उम्मेदवारीका बिषयमा गठबन्धनमा निर्णय हुने बताए। उनले सहमति नभए मित्रवत ढंगले प्रतिष्पर्धा गर्ने बताउनुभयो। त्यस्तै ममता झाले संविधानको मर्मलाई बुझ्दै सशक्त रुपले काम गर्नका लागि उम्मेदवारी दिएको बताइन्।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ। उप राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ। उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


