एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता
संघीय संसद भवनको ल्होत्से हलमा पुगेर शाक्यले उम्मेदवारी नाम दर्ता गराएकी हुन्। उनका साथमा एमालेका विष्णु रिमाल, कृष्णगाेपाल श्रेष्ठलगायत नेताहरू संसद भवन पुगेका थिए।
काठमाडौं, फागुन २७ : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
संघीय संसद भवनको ल्होत्से हलमा पुगेर शाक्यले उम्मेदवारी नाम दर्ता गराएकी हुन्। उनका साथमा एमालेका विष्णु रिमाल, कृष्णगाेपाल श्रेष्ठलगायत नेताहरू संसद भवन पुगेका थिए।
शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल छन्र।
पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उपराष्ट्रपति निर्वाचनका लागि पार्टीका तर्फबाट शाक्यलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको थियो।
राष्ट्रपतिमा यसअघि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलसँग एमालेका सुवासचन्द्र नेम्वाङ पराजित भएका थिए। खस आर्यतर्फ पुरुष राष्ट्रपति बनेपछि निर्वाचन आयोगले उपराष्ट्रपतिमा त्यसभन्दा फरक समुदायबाट महिला उम्मेदवार हुनुपर्ने बताएको छ।
सत्ता गठबन्धनतर्फ जनमतकी ममता झाले उम्मेदवारी दर्ता गराइसकेकी छन्। जसपाबाट रामसहाय यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउने तयारीमा छन्।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ। उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ।








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


