द्वन्द्वकालका घटनाको मुद्दा सर्वोच्चमा दर्ता हुनु विस्तृत शान्तिसम्झौताविपरीत : सापकाेटा
उनले नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्नेमा जोड दिए।
काठमाडौं, फागुन २७ : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताविपरीत भएको बताएका छन्।
आज (शनिबार) जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वसभामुखसमेत रहेका उनले नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्नेमा जोड दिए।
विस्तृत शान्ति सम्झौतामा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्तिप्रक्रियाका काम टुंग्याउने भनिएकाले बाँकी काम त्यसैले गर्नुपर्ने उनको भनाइ थियो।
‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताविपरीत छ,’ उनले भने, ‘त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएबमोजिम आयोग गठन भई काम पनि सुरु गरिएको अवस्था छ।’
शान्तिप्रक्रियाको मर्म, भावना, संक्रमणकालीन न्यायको पद्धति, प्रक्रियाविपरीत जाँदा शान्ति प्रक्रियालाई असर पुग्ने तर्क उनले गरे। ‘विस्तृत शान्तिसम्झौताको मर्म र भावनाअनुसार नै अगाडि बढ्नुपर्छ र संक्रमणकालीन न्यायसम्बन्धी विषयहरु समाधान गरिनुपर्छ,’ उनले भने।








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


