Kathmandu Press

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान बसेको १० दलको बैठकले तीन जनाको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको हो। आज तीन जनाको उम्मेदवारी दर्ता गराउने बाँकी भोलि छलफल गरेर टुंगो लगाउने निष्कर्ष बैठकले निकालेको एक नेताले बताए।
सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने

काठमाडौं, फागुन २७ : सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) ले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ। सत्तारुढ गठबन्धनकै एक घटक जनमत पार्टीले भने महिला उम्मेदवार मतता झालाई उपपराष्ट्रपतिमा उठाउने छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान बसेको १० दलको बैठकले तीन जनाको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको नमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए। राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिए।

'आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने र आइतबारसम्म छलफल गरेर एउटै उम्मेदवार कायम गर्ने सहमति भएको छ,' उनले भने। आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने भनेकाले कुनै जोखिम नलिइ आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको अध्यक्ष राउतले बताए।

आज तीन जनाको उम्मेदवारी दर्ता गराउने बाँकी भोलि छलफल गरेर टुंगो लगाउने निष्कर्ष बैठकले निकालेको अर्का एक नेताले बताए। दलहरुले आफ्नो(आफ्नो दाबी गर्दा बैठकले एकल उम्मेदवार उठाउन नसकेको बताइएको छ। अहिलेलाई उम्मेदवारी फिर्ता गराएर सहमतिको प्रयास थाल्ने हिसाबले तीन जनाको उम्मेदवारी दिने तयारी गरिएको ती नेताको भनाइ छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत शीर्ष नेताको सहभागिता थियो।

नयाँ समीकरण बन्ने बेला नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ। जसपाले संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि लिइसकेको छ।

तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णय गरेपछि जसपा अप्ठेरोमा परेको छ। संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने उल्लेख छ। जसअनुसार खासआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुन बताइँदै आए पनि अयोगको निर्णयले नयाँ परिस्थिति सिर्जना गरिदिएको छ।

निर्वाचन आयोगले संविधानको धारा ३८ (४) उल्लेख भएको राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भन्ने व्यवस्थामा टेकेर उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्नेमा जोड दिएको छ। 

नयाँ परिस्थिति उत्पन्न भएकाले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको स्रोतले बतायो। जसपाले पुरुषमा रामसहाय यादवलाई र महिलामा प्रमिला यादवलाई अघि सार्ने सम्भावना रहेको स्रोतको भनाइ छ। त्यसबारे निर्णय लिन जसपाले आज दिउँसो केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ।

प्रकाशित मिति: ११:५३ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्