Kathmandu Press

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै

 

काठमाडौं, फागुन २७ : सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् । 

निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको उल्लेख छ । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको उल्लेख गरिएको छ । 

बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति रामचन्द्र पौडेल निर्वाचित भएकाले फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने आयोगको निर्देशनसहितको निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्