प्रचण्ड र माधवकुमारले राजनीतिमा बेइमानी गरे : ओली
ओलीले अरु पार्टीहरूजस्तो क्षणिक फोहोरी खेलमा एमाले सहभागी नहुने पनि बताए।
काठमाडौं, फागुन २६ : एमाले अध्यक्ष केपी ओलीले दुई तिहाइको नेकपालाई कमजोर बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमारले राजनीतिमा बेइमानी गरेको आरोप लगाएका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टीनिकट नेपाल खेलकुद महासंघको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण समारोहमा उनले भने, ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं। फउल खेल्नेहरूले दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए। दुई तिहाइको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए।'
विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीको सेवामा समर्पित भएर पार्टी फुटाएर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गर्नेहरूले सफलता हासिल गर्न नसकेको उनले बताए। बेइमानीले श्रेष्ठता हासिल नसकिने बताउँदै उनले भने, ‘इमान्दार प्रयासबाट पाएको सफलता नै असली सफलता हो।’
ओलीले अरु पार्टीहरूजस्तो क्षणिक फोहोरी खेलमा एमाले सहभागी नहुने पनि बताए। उनले एमाले लामो दौडको घोडा भएको बताए। ‘एमाले देश बनाउन लागेको छ। एमाले म्याराथन दौडमा छ। देश बनाएपछि मात्र विश्राम लिन्छ।’ उनले छिटो पनि नगरी हतार पनि नगरी योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
