उपराष्ट्रपतिको उम्मेदवारबारे निर्वाचन आयोगको निर्णय संविधानविपरित : उपसभापति खड्का
आयोगको निर्णयबारे ८ दलीय गठबन्धनमा छलफल हुने
काठमाडौं, फागुन २६ : नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको संविधान बिपरित निर्वाचन आयोगले कुनै निर्णय गर्न नमिल्ने बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको सत्तागठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकपछि सञ्चारकर्मीेसंग कुरा गर्दै खड्काले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदाय हुनुपर्ने उल्लेख रहेको अवस्थामा अब पुरुष र खसआर्य उपराष्ट्रपति बन्न नपाउने आयोगको निर्णय संविधान विपरित रहेको बताए।
अहिले पुरुष व्यक्ति राष्ट्रपति चयन भएकाले लिङ्ग र समूदायको हिसावले फरक व्यक्ति उपराष्ट्रपति हुनुपर्ने प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति मुलुकको संविधानले गरेको व्यवस्था अनुकुलको रहेको उनको भनाइ छ । उनले आयोगले जारी गरेको विज्ञप्तीमा पनि फरक लिङ्ग वा समूदाय रहेकाले पनि विज्ञप्ती र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति मेल नखाने जिकिर गरे । यस बिषयमा आयोगका पदाधिकारी र सत्ता गठबन्धनबीच पनि छलफल हुने उनले बताए ।
त्यस्तै माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आयोगको वक्तव्यमा फरक लिङ्ग वा समूदाय हुनुपर्ने उल्लेख रहेकाले संविधान र कानून बमोजिम नै देखिएपनि अब पुरुष र खसआर्य उपराष्ट्रपति बन्न नपाउने आयोगको निर्णय हो भने संविधानको खिलाप हुने जिकिर गरे।
उनले निर्वाचन परिचालन समितिको बैठकले निर्वाचन प्रक्रियामा सवैलाई धन्यवाद दिने निर्णय गरेको जानकारी दिए।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
