जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
उम्मेदवार को बन्ने भन्ने चर्चा चलिरहँदा उपराष्ट्रपति पद आफूले पाउनुपर्ने दाबी गर्दै जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने भएको छ। झा जनमत पार्टीकी सप्तरी इन्चार्ज हुन्।
काठमाडौं, फागुन २६ : राष्ट्रपतिको निर्वाचन सम्पन्न भएलगत्तै उपराष्ट्रपतिको निर्वाचनको सरगर्मी बढेको छ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ५ गते हुँदैछ। उपराष्ट्रपतिका लागि भोलि (शनिबार) मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
उम्मेदवार को बन्ने भन्ने चर्चा चलिरहँदा उपराष्ट्रपति पद आफूले पाउनुपर्ने दाबी गर्दै जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने भएको छ। झा जनमत पार्टीकी सप्तरी इन्चार्ज हुन्। ५३ वर्षीया झा गत स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन्। उनले सदभावना पार्टीबाट राजनीति सुरु गरेकी हुन्।
जनता समाजवादी पार्टी (जसपा) ले पनि उपराष्ट्रपति पद आफूले पाउनुपर्ने बताउँदै आएको छ। जसपाले बारा २ बाट प्रतिनिधिसभा सदस्य रहेको रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि उपराष्ट्रपति आफूले पाउनुपर्ने भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर सो पदका लागि उनको उमेर पुग्दैन। राष्ट्रपति–उपराष्ट्रपति पदमा उम्मेदवार बन्न ४५ वर्ष पुग्नुपर्ने संवैधानिक व्यवस्था छ।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
