पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्न गृहको सिफारिस, एक नम्बरमा बसन्त कुँवर
गृह मन्त्रालयले पाँच डीआइजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
काठमाडौं, फागुन २६ : गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयले पाँच डीआइजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा परेका पाँच डीआइजीमध्ये कुँवर पहिलो नम्बरमा छन् । त्यसपछि क्रमशः राई, थापा, ज्ञवाली र बज्राचार्य दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा छन् ।
यसअघि आइजिपीका मुख्य दाबेदार मानिएका डिआइजी अशोक सिंहले दोहोरो जन्ममितिको विवादमा राजीनामा दिएका थिए। सिंहसँगै अन्य डिआइजीहरुको पनि जन्ममिति दोहोरो रहेका समाचारहरु सार्वजनिक भएका थिए ।
एआइजी बढुवामा पहिलो प्राथमिकता पाएकालाई नै भावी प्रहरी महानिरीक्षक (आइजिपी)का रुपमा हेरिन्छ । प्रहरीमा तीस वर्षे सेवाअवधि परिमार्जन नभए १५ दिनपछि नयाँ प्रहरी प्रमुख नियुक्त गर्नुपर्ने छ ।
प्रहरी महानिरीक्षकको पदावधि सकिनै लाग्दा पनि रिक्त रहेको एआइजीमा बढुवा गर्ने तत्परता नदेखिँदा यसपाली पनि डिआइजीबाटै आइजिपी बन्ने सम्भावना थियो । तर, एआइजीमा बढुवा भएसँगै अब सोही अनुसार प्रहरी महानिरीक्षक नियुक्त हुनेछन् ।
हालका प्रहरी प्रमुख धिरजप्रताप सिंहको तीस वर्षे सेवा अवधि चैत १५ गते सकिँदैछ । सेवा अवधि कायमै रहे चैतबाट उनी अनिवार्य अवकासमा जानेछन् । त्यसपछि आज सिफारिस भएकामध्येबाट आइजिपी चयन हुनेछ । एआइजी सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
