Kathmandu Press

अनेरास्ववियुकाे प्रतिबद्धता : निःशुल्क शिक्षादेखि प्रविधिमैत्री विश्वविद्यालयसम्म

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेको हो।
अनेरास्ववियुकाे प्रतिबद्धता : निःशुल्क शिक्षादेखि प्रविधिमैत्री विश्वविद्यालयसम्म

काठमाडौं, फागुन २६ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामा राज्यको लगानी वृद्धि गर्ने र निःशुल्क शिक्षाका लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्नेसहित स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठुला आंगिक क्याम्पसहरूलाई स्वायत्त विश्वविद्यालयका रूपमा स्थापना गर्न पहल गर्ने, संस्कृत भाषा, आयुर्वेद चिकित्सा र पुर्वीय दर्शनको शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने र शैक्षिक पर्यटनको विषय बनाउन पहल गर्ने, ७७ वटै जिल्लामा कम्तीमा एक त्रि.वि.को आंगिक क्याम्पस स्थापनाको लागि पहल गर्ने लगायत उल्लेख छ।

त्यस्तै उच्च शिक्षामा छात्रवृत्ति कार्यक्रमलाई वृद्धि गर्न पहल गर्ने, लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन पहल गर्ने पनि घोषणापत्रमा समावेश गरिएको छ। सम्पूर्ण विश्वविद्यालयहरूलाई अनिवार्य रूपमा शैक्षिक क्यालेन्डर निर्माण गर्न र शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम लागु गर्न पहल गर्ने, विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्ने लगायतका विषय उल्लेख गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए।

त्यस्तै अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरुलाई बन्दरहित सम्मानित क्षेत्रका रुपमा विकास गर्न तालाबन्दी,तोडफोड, आगजनीजस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिबद्धता जनाएको छ भने आन्दोलनका नाममा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारी माथिको व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने जनाएको छ।

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्