Kathmandu Press

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ : अध्यक्ष नेपाल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुगेका नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उल्लेख गरे ।
गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ : अध्यक्ष नेपाल

काठमाडौं, फागुन २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्  ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुगेका नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उल्लेख गरे ।

“भागबन्डामा अलमलिने भन्दा पनि देश र जनताको निम्ति के गर्ने भन्ने कुरा चिन्ताको विषय हुन्छ”, उनले भने, “कुनै पनि समस्याको वैज्ञानिक समाधान खोज्नुपर्छ, सहकार्यको निम्ति पनि औचित्यपूर्ण ढङ्गबाट पुष्टि गर्ने किसिमबाट अगाडि बढ्नुपर्छ, त्यसो भयो भने सबै समस्याको समाधान हुन्छ ।”

नेता नेपालले राष्ट्रपतिको मतपरिणामलाई अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक रूपमा लिएको बताए । उनले भने, “हामीले जस्तो प्रकारको गठबन्धनका घटकहरूबीच सहमति गरेका थियौँ तदअनुरूपनै मत परिणाम प्राप्त भएको छ ।”
 
अध्यक्ष नेपालले राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले राष्ट्रलाई सर्वोपरी हितमा राखेर काम गर्नुपर्ने उल्लेख गरे । राष्ट्रपतिले संविधानले दिएको दायराभित्र बसेर आफ्नो जिम्मेवारी पूरा गर्दै आजसम्मको सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरू संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता लगायतका उपलब्धिको रक्षा गर्ने काममा जुट्नुपर्ने उनको भनाइ थियो ।
 
नेता नेपालले सरकार सञ्चालनका सन्दर्भमा पनि राष्ट्रको हितलाई सर्वोपरी राख्दै संविधानको मर्यादाको रक्षा र गणतन्त्रलाई जोगाउनका लागि समर्पित हुने विश्वास व्यक्त गरे । उनले सङ्घीयतालाई देशअनुकूल सशक्त र प्रभावकारीरूपमा अघि बढाउँदै जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न महत्त्व दिएर अघि बढ्नुपर्नेमा जोड दिए । 
 
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिबाट संविधानको रक्षा गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याएर मुलुकमा स्थायी शान्ति कायम गर्दै त्यसको आधारमा मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे ।

उपसभापति खड्काले लामो राजनीतिक जीवन बिताएका पौडेल राष्ट्रपतिमा चुनएिको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्