Kathmandu Press

राष्ट्रपति चुनावपछि कांग्रेस र एमाले एक ठाउँमा आउँछ? ओली भन्छन– नआउने कसम खाएको छैन

राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, अहिले भनिहाल्न सकिँदैन : ओली
राष्ट्रपति चुनावपछि कांग्रेस र एमाले एक ठाउँमा आउँछ? ओली भन्छन– नआउने कसम खाएको छैन

काठमाडौं, फागुन २५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनपछि कांग्रेससँग मिल्न सकिने संकेत गरेका छन् । 

राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै ओलीले राजनीतिमा जे पनि सम्भव छ र केही पनि सम्भव छैन भनाईले सार्थकता पाउन सक्ने बताए । कांग्रेस र एमाले एकैठाउँमा आउने सम्भावना छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अ‍ोलीले भने, ‘नआउनी भनेर कसम खाएको छैन।’

उनले नयाँ राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा,जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका बहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए ।

यसअघिका राष्ट्रपतिको भूमिका राम्रो रहेको अ‍ोलीको भनाई थियो । वर्तमान राष्ट्रपतिले अझै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।‘आलोचना संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगर्ने कुरा, एक त राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ठ भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको छ । दुवै राष्ट्रपतिले यसअघि राम्रो काम गर्नुभएको छ,’ ओलीले भने । 

 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, फागुन २५, २०७९