शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र सक्छौं : मन्त्री शर्मा

काठमाडौं, फागुन २५ : सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक संघीय संसदमा दर्ता गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ उक्त बिधेयकहरुलाई अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगसम्बन्धी विधेयकलाई अघि बढाउने जानकारी दिइन् ।
शान्ति प्रक्रियाका बाँकी काम ६ महिनाभित्रै सक्ने भनिएपनि बिभिन्न कारणले ढिलाई भएकाले अव यसलाई तीव्र रुपमा अघि बढाइने उनले बताइन्। प्रवक्ता शर्माले शान्तिसम्झौताका बिषयलाई अदालतको बिषय बनाउने काम उचित नभएको जिकिर गरिन् ।
अघिल्लो सरकारले अघि बढाएको विधेयक संसद्को कार्यकाल समाप्त भएपछि निष्कृय भएका थिए । मन्त्रीपरिषदले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।











