राष्ट्रपति निर्वाचनमा १ बजेसम्म ६९४ जनाले गरे मतदान
निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
काठमाडौं, फागुन २५ : राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ।
निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो।
कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन्। मतदान स्थलमा राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउने भन्दै एकअर्कालाई शुभकामना दिएका छन् ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।











