राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाकाे निर्णय
आज बसेको रास्वप केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो।
काठमाडाैं, फागुन २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ।
आज बसेको रास्वप केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको रास्वपाका एक नेताले बताए। प्रतिनिधिसभातर्फ रास्वपाका १९ सांसद छन्।
सुरुमा सात दलीय गठबन्धनमा आबद्ध रहँदै आएकाे रास्वपले नयाँ समीकरण बन्दा पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। तर राष्ट्रपति निर्वाचनमा भने कसलाई समर्थन गर्ने भन्ने विषयमा सो पार्टी अनिर्णीत रहँदै आएको थियो।
राष्ट्रपतिका लागि आज (बिहीबार) संसद भवन नयाँ बानेश्वरमा मतदान जारी छ। बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस नेता पौडेल उम्मेदवार छन् भने एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ छन्।
मतदानलगत्तै मतगणना थालिने र आज साँझ नै नतिजा पनि आउने निर्वाचन आयोगले जानकारी दिएको छ।
आठ दलीय समर्थन पाएका पौडेलको पक्षमा रास्वपाले पनि मत दिने भएपछि उनलाई जित्न सहज हुने देखिएको छ। नेम्वाङको पक्षमा उनकै पार्टीबाहेक अरूको समर्थन जुटेको छैन। एमालेसँग नजिक देखिँदै आएको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ।











