Kathmandu Press

आसिफको शतकमा ओडिआइमा नेपालको अहिलेसम्मकै उच्च स्कोर 

पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य
आसिफको शतकमा ओडिआइमा नेपालको अहिलेसम्मकै उच्च स्कोर 

काठमाडौं, फागुन २५ : ओपनर आसिफ सेखको मेडन शतक मद्दतमा नेपालले एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक रन बनाएको छ। आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफले शतक बनाएपछि नेपालले एकदिवसीय क्रिकेटको सर्वाधिक २९७ रन बनाएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २९७ रनमा अलआउट भयो। यो नेपालको एकदिवसीयको सर्वाधिक रन हो। यसअघि नेपालले गत महिना कीर्तिपुरमै नामिबियाविरुद्ध २८७ रन बनाएको थियो।

नेपालका लागि आसिफ १०१ बलमा आफ्नो पहिलो शतक पुरा गरेका थिए। सेमो कामेइको बलमा आउट हुनुअघि उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, कुशल मल्ले ५६ बलमा ४५ रन बनाए।

यी दुईले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । तर, मिडल अर्डर चल्न नसक्दा नेपाले ३ सय रन बनाउन सकेन। यस्तै, भीम साकीले ३८ रनमा ४४ रन बनाए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए। 

पपुवा न्युगिनीका लागि कामेइले ९।१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए भने रिलेइ हेकुरेले ३ तथा एलेइ नाओले १ विकेट लिए। 

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्