प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा
न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा प्रचण्डविरुद्धको रिट चौथो क्रममा रहेको छ ।
काठमाडौं, फागुन २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा परेको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो। इजलासमा उक्त रिट चौथो क्रममा रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही आधारमा उनलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै रिट कात्तिकमा दर्ता भएको थियो ।
सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरुले प्रचण्डविरुद्ध रिट दर्ता गराएका थिए ।
सत्ता साझेदार दल, माओवादी धारका ८ पार्टी र कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले पनि प्रचण्डविरुद्ध दायर भएको रिटको विरोध जनाएका छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










