Kathmandu Press

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

कार्यालयमा सधैं कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ।
यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

काठमाडाैं, फागुन २४ : देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ। 

कार्यालयमा सधैं कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ।

बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। उनले भने, 'लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन्। आउँछन् र खुरुखुरु जान सक्छन्।' 

बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ। सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको भने बताए। सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने भने बताए। प्रमुख कपालीले भने, 'ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ।' 

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ। त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए। उनले भने, 'समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ।' 

कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन्। २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन्।

कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको भने बताए। सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ। उनले भने, '३ बजेपछि कार्यालय नै सुनसान हुन्छ।'

यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ। पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ। कार्यालयहरुले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ।

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्