Kathmandu Press

न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सर्वोच्च बारको ध्यानाकर्षण 

अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाको अध्यक्षतामा बसेको बैठकले नौ दलको विज्ञप्तिप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको हो।
न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सर्वोच्च बारको ध्यानाकर्षण 

काठमाडौं, फागुन २४ : सर्वोच्च अदालतबाट भएको आदेशलाई लिएर सत्ता गठवन्धानमा सामेल नौ राजनीतिक दलले जारी गरेको विज्ञप्तिलाई लिएर सर्वोच्च अदालत बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाको अध्यक्षतामा बसेको बैठकले नौ दलको विज्ञप्तिप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको हो।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको एक अभिव्यक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो। दलहरूले प्रकाशन गरेको विज्ञप्तिबाट न्यायालयको स्वतन्त्रता, गरिमा, मर्यादा र निष्ठा माथि नै गम्भीर प्रहार भएको सर्वोच्च बारले जनाएको छ।

संविधानले स्वतन्त्र न्यायपालिका, विधिको शासनको पूर्ण प्रत्याभूत गरेको परिप्रेक्ष्यमा अदालतमा कुनै मुद्दा दर्ता हुने नहुने विषय र त्यसमा कानुनबमोजिम निर्णय गर्न अदालत पूर्ण स्वतन्त्र हुने बारले जनाएको छ।

‘त्यस्तो अदालतको क्षेत्राधिकार भित्रको विषयमा राजनीतिकदलहरु वा कुनै निकायले प्रेस विज्ञप्ति जारी गर्नु नेपालको संविधानको धारा १२८ र १३३ को प्रतिकूल हुने सर्वोच्च अदालत बार एसोसिएसनको ठम्याई छ,’ बार सचिव श्याम कुमार खत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

नेपालको संविधानले अंगीकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका तथा स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई पालना गरी न्यायालयको मर्यादा र गरिमाको सम्मान ख्याल गर्नसमेत बारले आग्रह गरेको छ। 

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्