दुर्गा प्रसाईको कालोमोसो दस्ताका संयोजक शम्भु थापा पक्राउ

काठमाडौं, फागुन २४ : दुर्गा प्रसाईँको कालोमोसो दस्ताका संयोजक शम्भु थापा पक्राउ परेका छन् । प्रसाईँले बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई कालोमोसोे दल्ने धम्की दिँदै त्यसका लागि टोली नै घोषणा गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनले थापालाई मंगलबार पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो । संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो।
थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकाले उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए ।उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










