बिहानैदेखि काठमाडौँ उपत्यकामा हल्का वर्षा

काठमाडौं, फागुन २४ : आज बिहानदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् पौडेलले बताए। पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी आज पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात हुने सम्भावना छ । मेघगर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










