Kathmandu Press

मुस्ताङमा कलेज खोल्न स्वीकृति दिएको छैन : प्रधानमन्त्री दाहाल

मुस्ताङमा कलेज खोल्न स्वीकृति दिएको छैन : प्रधानमन्त्री दाहाल

काठमाडाैं, फागुन २३ : पछिल्ला दिनमा मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बताएका छन। प्रधानमन्त्रीले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताए ।

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले मुस्ताङको चर्चा आउने बित्तिकै हामी सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताए । केही दिन पहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिएको आरोप लगाएका थिए।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्वविद्यालय खोल्न कुनै निर्णय नभएको र त्यसको छानबिन गरिने बताएका थिए।  प्रधानमन्त्रीले  मुस्ताङमा मात्रै नभई देशका अन्य स्थानमा समेत महत्त्वपूर्ण खनिज पदार्थ रहेकाले त्यसलाई उपयुक्त रूपमा उपयोग गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीका रूपमा असफल हुने छुट आफूहरूलाई नभएको भन्दै उनले देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइने बताए। आफूले अर्थतन्त्रको क्षेत्रमा देखा परेको समस्या समाधानका लागि पहलकदमी लिएको र केही दिनभित्रै नयाँ विश्वासका साथ देश सकारात्मक दिशामा अगाडि बढ्ने उल्लेख गरे। निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्था, बैंक, वित्तीय संस्थाका प्रतिनिधि सबैलाई बोलाएर अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि छलफल गरेको प्रधानमन्त्रीको भनाइ छ । उनले सबै तह तप्का र क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकका सामु देखा परेको समस्या समाधान हुने विश्वास व्यक्त गरेे ।

सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताए ।

विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको उनले जानकारी दिए। जलविद्युत् क्षेत्रको विकासको माध्यमबाट मात्रै समृद्धि प्राप्त हुने हुँदा विद्युत् खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने बताए ।

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि नै मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको भए पनि आयोजना निर्माणपूर्व सात मन्त्रालय र २१ विभाग पुग्नुपर्नेजस्ता समस्या रहेकाले त्यसको उचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धि भइरहेको जानकारी दिँदै उनले विद्युत् प्रवर्द्धकले स्थानीयस्तरमा भोग्नुपरेको समस्या समाधान गर्न अनुरोध गरे । अध्यक्ष आचार्यले बिजुलीको आन्तरिक खपत बढाउन तथा बाह्य मुलुकमा बिक्रीका लागि अनुमति दिन आग्रह गरे ।

कार्यक्रममा पूर्वसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा डिल्लीराज खनाललगायतलाई प्रधानमन्त्री दाहालले सम्मान गरेका थिए।

प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्