रामचन्द्र पौडेलले मागे राप्रपासँग मत
फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा गठबन्धनका साझा उम्मेवार पौडेललाई भोट माग्न आज साँझ गठबन्धनका नेताहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए।
काठमाडाैं, फागुन २२ : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मत मागेका छन्। नौ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलसहित गठबन्धनका नेताहरूले राप्रपाका नेताहरूसँग भेट गर्दै मत मागेका हुन्।
फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा गठबन्धनका साझा उम्मेवार पौडेललाई भोट माग्न आज साँझ गठबन्धनका नेताहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए।
भेटमा राप्रपा नेताहरूले आगामी फागुन २४ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रपतिको निर्वाचनका बारेमा निर्णय गर्ने जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता दीपक खड्काले बताए।
राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारे टुंगो लगाएपछि नोक्सानी नहुने गरी निर्णय लिने बताएका छन् । सोही अवसरमा राप्रपाका नेताहरूले गठबन्धनबाट राष्ट्रपति पदमा साझा उम्मेदवार बनेको भन्दै पौडेललाई शुभकामना दिएका थिए।
भेटमा राष्ट्रपतिका उम्मेदवार पौडेलसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, दीपक खड्का, माओवादीका नेता शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए।
राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू डा प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, दीपक बोहरालगायत सहभागी थिए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










