Kathmandu Press

होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ  : पर्यटनमन्त्री

होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ  : पर्यटनमन्त्री

काठमाडौं, फागुन २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । 
    
होली पर्वका अवसरमा रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्दै उनले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने बताए।  उनले भने, ‘हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ । आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ । मधेस र पहाडको भावनात्मक एकतालाई बिस्तारै होली पर्वले झन्–झन् बलियो एकताका आधारमा बाँधिरहेको छ।’

पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले देशको पर्यटनलाई बढाउनका लागि मुलुकको संस्कृतिको प्रवद्र्धन गर्न जरुरी भएको बताए। 

प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै आजको पर्यटन निर्माण गर्नसकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उनको भनाइ थियो ।

रङ्गहरुको पर्व मानिने होली नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत मनाइने गरिएको छ । विशेषगरी नेपाल र भारतमा यो पर्व धुमधामका साथ मनाइन्छ ।

पर्यटनमन्त्रीले युवाहरुमा होली पर्व अति नै लोकप्रिय हुँदै गइरहेको भन्दै यो पर्वको प्रवद्र्धनमा जुट्न पनि आग्रह गरे । उनले मादक पदार्थ सेवन नगरी पर्वलाई उल्लासका साथ सभ्य रुपमा मनाउन पनि आग्रह गरे। 

होली उत्सवमा ख्यातिप्राप्त गायकहरू प्रमोद खरेल, इन्दिरा जोशी, ज्योति मगरलगायत कलाकारको साङ्गीतिक प्रस्तुतिले उल्लेख्य सङ्ख्यामा उपस्थित दर्शकमाझ रौनक थपेको थियो।

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्