संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी बाधक : ओली
राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन बारम्बार भन्दा पनि ऐन कानुन बनाउन नदिएको आरोप लगाएका हुन्।
काठमाडाैं, फागुन २२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाएका छन्।
राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन बारम्बार भन्दा पनि ऐन कानुन बनाउन नदिएको आरोप लगाएका हुन्।
उनले बेपत्ता छानबिन तथा सत्य निरुपण सम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरुले व्यवधान खडा गरेको जिकिर गरे। ओलीले शान्तिप्रक्रियालाई अविलम्व टुङ्गाउनुपर्ने एमालेको धारणा रहेको भन्दै यस बिषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए।
प्रशिक्षण कार्यक्रममा ओलीले पुष १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छलि कुरा गरेको आरोप लगाए। राष्ट्रिय राजनीतिलाई सहि ट्रयाकमा ल्याउनका लागि एमालेका राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति गर्न उहाले आह्वान गरे।
उनले अहिले पाइला पाइलामा संविधान मिच्नेहरुले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यवाजी गरिरहेको टिप्पणी गरे। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल सभामुख हुदा सांसदको अधिकार खोसेको भन्दै ओलीले व्यक्तिगत रुपमा सम्मान गरेपनि सभामुखका रुपमा कामै नलाग्ने र राष्ट्रपतिका रुपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे।
ओलीले अहिले सरकारमा भएका दल र नेताहरु सत्तास्वार्थका लागि राष्ट्रिय हित बिपरित काम गरिरहेको भन्दै यसलाई एमालेले रोक्ने बताए। नेकपा एमाले देश र जनताका साथै संविधानप्रति प्रतिवद्ध रहेकाले कुनै पनि भ्रममा नपर्न आफ्ना सांसदहरुलाई ओलीले आग्रह गरे।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










