काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ
आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्न सक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो।
काठमाडाैं, फागुन २२ : होली पर्वलाई मध्यनजर गरी आज काठमाडाैं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ।
आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्न सक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो।
काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ। यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ।
होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए।
उनले इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी लापर्बाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने बताए।
होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










