ओली सरकारको एक वर्षमै सेयर लगानीकर्ताले गुमाए साढे २ खर्ब
काठमाडौं, फागुन ३ : दुई तिहाई मत सहित प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारोहण गरेको आज एक वर्ष पुरा गरेको छ । बिहिबार वर्षगाँठको अवसरमा पानी जहा....
काठमाडौं, फागुन ३ : दुई तिहाई मत सहित प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारोहण गरेको आज एक वर्ष पुरा गरेको छ । बिहिबार वर्षगाँठको अवसरमा पानी जहाजको कार्यलय खोल्ने देखि जनताको जलविद्युत आयोजना कार्यक्रम समेत घोषणा गर्ने चटारो चलिरहेको थियो ।
सिंहदरबारबाट राष्ट्रको नाममा संम्बोधन गर्नुभन्दा केही समय अगाडी मुलुकको अर्थतन्त्रको सूचक मानिने सेयर बजार भने ओरालो लागेर तीनवर्ष अगाडीको विन्दुमा झरेको थियो । उता प्रधानमन्त्री ओलीले देश विकासको आधार तयार भएको बताइरहदाँ यता सेयर बजारको सूचक भने साढे तीन वर्ष अघिको अवस्थामा फर्किएको थियो ।
ओली प्रधानमन्त्री भएको एकवर्षको अवधिमा नेप्से ३ सय १२ अंकले घटेर १११२.८७ विन्दुमा आइपुगेको छ । एकवर्ष अघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता छा्ड्दा नेप्से १४२४.९५ बिन्दुमा थियो ।
साताको अन्तिम दिन बिहिबार घटेर नेप्से सूचक २०७२ साउन ३१ मा कायम भएको १११२.०५ विन्दुमा आइपुगेको छ । उक्त समय र अहिलेको समय भने फरक छ । उक्त समयमा बजार बढ्दै उक्लिएर १११२.०५ बिन्दूमा पुगेको थियो भने अहिले घट्ने क्रममा बजार १११२.८७ विन्दुमा ओरालो लागेको हो ।
विगत एक महिनामा सेयर बजार ८३ अंकले झरेको छ । परिसूचक घट्दै गएपछि सेयर बजारमा संस्थागत लगानीकर्ता समेत सक्रिय हुन सकेका छैनन् । बैंक तथा वित्तिय संस्थाहरु राम्रै नाफाका विवरण सार्वजनिक गरेता पनि लगानीकर्ता भने आर्कषित हुन सकेका छैनन् । यसले ओली सरकारले लगानीको वातावरण सुधार होईन, झनै बिगारेको स्पष्ट पार्छ ।
सेयर बजार घटेको घट्यै
तीनवर्ष यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचक लगातार ओरालो लागेको छ । जसका कारण लगानीकर्ताको खर्बौँ रुपैयाँ गुमेको छ भने त्यसाके प्रत्यक्ष असर लाखौँ आम लगानीकर्तामा परेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले केही साता अगाडी एउटा कार्यक्रममा सेयर बजार सुधारमा सरकारले गर्न पर्ने सवै कार्य गरिसकेको बताएका थिए । उनले आफू मात्रै उदार भएर सेयर बजार उकालो नलाग्ने समेत प्रष्ट पारेका थिए ।
सरकारले यतिवेला ब्याजदर अस्वभाविक रुपमा माथि गयो भनेर ब्याज दरलाई एकल अंकमा झार्ने ब्यवस्था मिलाएको छ । मार्जिन कल, शेयर धितोमा कर्जा, बैंकलाई ब्रोकर लाइसेन्सजस्ता बिषयहरुमा उदारता देखाएको छ । अनलाईन मार्फतनै खरिद विक्री समेत सुरु भइसकेको छ । सरकारले सवै काम गरिरहेको दावी गरेपनि सेयर बजार उकालो भने लाग्न सकेको छैन ।
२०७३ सालको साउन १२ गते नेप्से १८८० उच्चतम विन्दुमा पुगेको थियो । नेपाल राष्ट्रबैंकले दिएको तथ्यांक अनुसार २०७४ मंसिर मसान्तमा १५२०.२ विन्दु रहेको नेप्से सूचकमा २४.४ प्रतिशतले घटेर २०७५ मंसिर मसान्तमा ११४८.८ विन्दुमा सीमित भएको थियो । २०७५ असार मसान्तमा भने उक्त सूचक १२१२.४ विन्दु रहेको थियो ।
तीवर्ष देखि घटिरहेको सेयर सरकार गठन एक वर्ष पुरा हुदाँ १११२.८७ मा आइपुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्ममा गतवर्षको तुलनामा कुल सेयर बजारको कुल मूल्यमा १४.१ प्रतिशत घटेर १४ खर्ब ३६ अर्ब ६७ करोड रुपैयाँमा आइपुगेको छ ।
गत वर्षको पुसबाट अहिलेसम्म आइपुग्दा २ सय २ अंकले झरेको छ । जसका कारण लगानीकर्ताले साँढे २ खर्ब रुपैयाँ समेत गुमाएका छन् । साँढे तीन वर्ष अगाडी झन्डै २१ खर्ब रुपैयाँसम्म पुगेको थियो । सोझै हिसाव गर्दा यो अवधिमा ७ खर्ब रुपैयाँ भन्दा धेरैले नोक्सानी लगानीकर्ताहरुले व्यहोर्नु परेको देखिन्छ ।
सेयरमा यो नोक्सानीको ठूलो हिस्सा साना लगानीकर्ताले व्योहोर्नु परेको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताईन । नेपालमा १५ सेयरमा लाख भन्दा बढी लगानीकर्ताहरु रहेको उनको दावी छ । तीमध्ये अधिकांश साना लगानीकर्ता छन् ।