Kathmandu Press

बाबुरामको आह्वान : जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको छ, यसविरुद्ध पूर्वमाओवादी एक हुनुपर्छ

बाबुरामको आह्वान : जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको छ, यसविरुद्ध पूर्वमाओवादी एक हुनुपर्छ
फाइल तस्बिर

काठमाडौं, फागुन २१ : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरुलाई एक ठाउँमा आउन आह्वान गरेका छन् । 

सहिद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष भट्टराईले माओवादी जनयुद्धलाई अपराधिकरण गर्ने प्रवृत्ति हाबी भएको र यसविरुद्ध पूर्वमाओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका हुन्।  

उनले माओवादी पृष्ठभूमिमा गर्व रहेको र माओवादी भन्न कुनै आपत्ति नरहेको पनि बताए । शान्ति प्रक्रियामा आउनु सहि भएपनि संविधान बनाउन नसक्दा पहलकदमी हातबाट फुस्किएको भट्टराईले बताए । उनले अब निर्मम ढंगले समीक्षा गर्दै छलफल हुनुपर्ने र विचार मिल्नेहरु एकै ठाउँमा आउनुपर्ने बेला भएको बताए । 

भट्टराईले तत्काल एकता सम्भव नभए मोर्चा बनाएर भएपनि पूर्वमाओवादीहरु एक ठाउँमा आउनुपर्ने बताए ।  ‘मिल्न सक्नेहरु एकै ठाउँमा आउँ, एउटै पार्टी बनाउँ । समय लाग्छ भने पहिला गठबन्धन बनाउँ । त्यो पनि सकिन्न भने कार्यगत एकता गरौं,’ उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई गिरफ्तार गर्ने मुद्दा लगाउन खोजिनुलाई आफूहरुलाई जिस्क्याएको संज्ञा दिएका छन् । ‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो? यो निहुँ खोजेको होइन ?  तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि,’ उनले भने।  

भट्टराईले जनयुद्धका सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको सम्मानका लागि पनि पूर्वमाओवादी एक ठाउँमा आउनुपर्ने बताए । त्यसतर्फ आफू सकारात्मक भएको र नजिकका व्यक्तिहरुसँग पनि यसबारे छलफल गरिरहेको उनले बताए । ‘हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौँ । सक्नेहरु विचार मिल्नेहरु एउटै पार्टी बनाउँ । यस्ता मुद्दामा कार्यगत एकता गरौँ । त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ । त्यसले परिवर्तन ल्याउँछ । हाम्रा शहीदहरुको सपना पूरा गर्छ,’ उनले भने  
 

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्