सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन
प्रचण्डको निर्देशनपछि सोही अनुसारको निर्णय गर्न प्रदेश संसदीय दलको बैठक बस्दैछ ।
काठमाडौं, फागुन २१ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।
शनिबार माओवादीको सुदूरपश्चिम संसदीय दलको बैठकले शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डबाट पनि सोही अनुसारको निर्देशन आउनुपर्ने जानकारी सहितको पत्र शनिबार प्रदेश संसदीय दलले पठाएको थियो । पत्रको जवाफमा प्रचण्डले कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न निर्देशन दिएका हुन् ।
सुदूरपश्चिममा माओवादीले आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । आफूहरुको माग, अध्यक्षको निर्देशनबारे छलफल गरेर टुंगोमा पुग्न प्रदेश संसदीय दलको बैठक बस्दै छ । गठबन्धनमै रहेकाले माओवादीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनुपर्नेछ ।
पाँच दलीय गठबन्धन कायम रहँदा कांग्रेस सभापति शेर बहादुर देउवाले डडेलधुरा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । सोही कारण माओवादीको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्ट मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्नुपर्ने पक्षमा छन् ।
नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्र दुबैले शक्ति बाँडफाँटमा लिखित सहमति मागेपछि विश्वासको मत पाउने वातावरण बनाउनका लागि कांग्रेस संसदीय दलको बैठक पनि आजै बस्दै छ । मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










