सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई एमालेले विश्वासको मत नदिने, माओवादी छलफल गर्दै
प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँटमा लिखित सहमति मागेको छ ।
काठमाडौं, फागुन २१ : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ । एमालेको आज बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
यसअघि माघ २६ गते एमालेका राजेन्द्र रावल नेतृत्वको सरकार ढलेपछि कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।
केन्द्रमा ८ दलीय गठबन्धन भएपनि प्रदेशमा गठबन्धनकै घटकहरुबीच सहमति जुट्न नसक्दा मुख्यमन्त्री शाह संकटमा परेका छन् । प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँटमा लिखित सहमति मागेको छ ।
गठबन्धनको प्रमुख घटक नेकपा माअोवादी केन्द्रले पनि शक्ति बाँडफाँटमा लिखित सहमति मागेको छ । उसले मुख्यमन्त्री समेत आलोपालो चलाउनुपर्ने माग गरेको छ । माओवादीको प्रदेश कमिटीले अध्यक्ष पुष्पकमल दाहाललाई पनि प्रदेशको अवस्थााबारे जानकारी गराएको थियो ।
हिजो बसको माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकमा केही सांसदहरुले वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्ने मत राखेका थिए । माओवादीले आज त्यसबारेमा निर्णय गर्न पुनः संसदीय दलको बैठक बोलाएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७, एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक स्वतन्त्र सांसद छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










