संयमित भएर होली पर्व मनाउन प्रहरीको आग्रह
उनका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ ।
काठमाडौं, फागुन २१ : फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ ।
इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले बताए । उनका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ ।
यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ ।
मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो ।
पछिल्ला केही वर्षदेखि होली पर्व संयमित तरिकाले मनाउने गरेको पाइन्छ । तर, पनि सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । होली पहाडी जिल्लामा भोलि र तराईमा पर्सि मनाइँदैछ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










