Kathmandu Press

यात्रुसँग बढी भाडा असुल्ने पाँच जना पक्राउ 

यात्रुसँग बढी भाडा असुल्ने पाँच जना पक्राउ 

काठमाडाैं, फागुन २० : काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले बढी भाडा असुल्ने पाँच जनालाई नियन्त्रणमा लिएकाे छ।  पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरमा काम गर्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरेका हुन् ।

चाडपर्व ( होली ) को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दाबढी भाडा लिने गरेको गुनासो आएपश्चात ट्राफिकले सादा पोशाकमा समेत जनशक्ति परिचालित गरेको छ ।

निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति: ०९:३१ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्