कालोपत्रे गरिएकासहित १७ विमानस्थलमा उड्दैनन् जहाज
काठमाडौं, पुस २९ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विभिन्न जिल्लामा निर्माण गरिएका १७ वटा विमानस्थल अहिले बन्द रहेका छन्।
यीम....

काठमाडौं, पुस २९ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विभिन्न जिल्लामा निर्माण गरिएका १७ वटा विमानस्थल अहिले बन्द रहेका छन्।
यीमध्ये केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानसमेत हुन सकेका छैनन्। विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन्।
अहिले ति विमानस्थल गौचरणमा परिणत भएका छन्। केन्द्र, प्रदेश र स्थानीय गरि तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौंको लगानी खेर गएको छ।
ठूला नेताको दबाब र निर्वाचन एजेन्डाका रूपमा विमानस्थल निर्माण भएका कारण पनि यस्तो अवस्था आएको जानकारहरु बताउँछन्। सरकार परिवर्तनसँगै कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहँुदा सरकारको करोडौं लगानी डुबेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा न्यूनतम हिमाली क्षेत्रमा ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च हुन्छ।
कालोपत्रे भएकै विमानस्थल बन्द
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २०६९ मा नौ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्रे गरेको थियो। तर, विमानस्थल हाल प्रयोगविहीन भएको छ। कालोपत्रे गरेको केही दिनमै परीक्षण उडान भएपनि हालसम्म नियमित उडान नभएको प्राधिरकणले जनाएको छ।
६ सय मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्रे गरिएसँगै बढाएर नौ सय मिटर बनाएको छ। बरु कालोपत्रे हुनु अघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो।
गण्डकी प्रदेश सरकारले सातामा एक दिन पोखरा–मनाङ नियमित उडान गर्ने बताएको थियो।
तीन हजार तीन सय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजबाट उडान सुरू गरिएको थियो ।
पुरानो विमानस्थल गौचरणमा परिणत
२०१६ बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल गौचरनमा परिणत भएको छ। विमानस्थल निर्माण भएको १९ वर्षपछि २०३५ बाट उडान बन्द भएको विमानस्थल पुनःसंचालन हुन सकेको छैन।
त्यस्तै, २०१७ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल २०६७ मंसिरदेखि २०६९ मंसिरसम्म दुई वर्ष उडान बन्द भएको थियो। बन्द भएको विमानस्थलमा २०६९ को मंसिरबाट पुनः सञ्चालनमा ल्याइए पनि त्यसले पूर्णता पाउन सकेन। सातामा तीन वटा उडान भर्ने योजनाअनुसार पुनः सञ्चालनमा आएको विमानस्थल अहिले बन्द छ।
कुन–कुन विमानस्थल बन्द?
उडानविहीन भएका १७ विमानस्थलमध्ये सन् १९७८ मा सञ्चालनमा आएको बैतडी विमानस्थल, सन् १९७६ मा सञ्चालन भएको बझाङ विमानस्थल, सन् १९८६ मा सञ्चालनमा आएको दार्चुला विमानस्थल छन्।
त्यस्तै, सन् १९७३ बाट सञ्चालनमा आएको ढोरपाटन विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको डोटी विमानस्थल, सन् १९७६ बाट सञ्चालनमा आएको जिरी विमानस्थल, सन् २००३ बाट सञ्चालनमा आएको खन्गेलडाँडा विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको महेन्द्रनगर विमानस्थलमा पनि अहिले बन्द छन्।
यसैगरि, सन् १९८१ बाट सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल, सन् २०१४ बाट सञ्चालनमा आएको मसिनेचौर (डोल्पा) विमानस्थल, सन् १९६० बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल, सन् १९६६ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल, सन् १९८४ बाट सञ्चालनमा आएको टीकापुर विमानस्थलमा पनि अहिले उडान हुन सकेको छैन। स्याङबोचे विमानस्थल, लाङटाङ विमानस्थल र रोल्पा विमानस्थलमा पनि प्रयोगविहीन भएका छन्।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालभर ठूला साना गरि ५५ वटा विमानस्थल छन्। जसमा ३४ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ भने १७ वटा विमानस्थल पूर्ण रुपमा बन्द भएका छन्।
अहिले २७ वटा वायुसेवा कम्पनीले विभिन्न १३ देशवाट उडान गर्दै आएका छन्। त्यस्तै आन्तरिक उडान गर्ने विमान कम्पनीको संख्या नौ र हेलिकोप्टर कम्पनीको संख्या १० पुगेको छ।












-(7)-1765197040.jpg)