दूध एक लिटरमा १४ रूपैयाँ मूल्य वृद्धि

काठमाडाैं, फागुन २० : सरकारले दूधको मूल्य प्रति लिटर ९ रूपैयाँ १० पैसा बढाएकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो ।
यसअघि किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४० रुपैयाँ पाउँदै आएका थिए। मूल्य बढेसँगै अब किसानले प्रतिलिटर ६५.५० रुपैयाँ पाउनेछन्।
मन्त्रिपरिषद्को निर्णयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउन दुग्ध विकास संस्थान (डीडीसी) लाई परिपत्र गर्छ । त्यसपछि किसानले पाउने मूल्य कार्यान्वयन हुन्छ ।
डीडीसीले देशभरका १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध खरिद गर्दै आएको छ । दूध खरिद गरेबापत सहकारीलाई ‘टीएस’ खर्च दिइन्छ । डीडीसीका अनुसार किसानको मूल्यबाहेक सहकारीलाई प्रतिलिटर ४ रुपैयाँ दिइन्छ । सरकारले किसानले पाउने मूल्य बढेसँगै सहकारीले पाउने मूल्य पनि बढ्ने जनाएको छ । त्यसको प्रत्यक्ष असर भने दूधको खुद्रा मूल्य र दूधबाट उत्पादित वस्तुको मूल्यमा पर्नेर्छ ।
डीडीसीले हाल फ्याट निकालिएको नीलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब करिब ९६ रुपैयाँदेखि एक सय रुपैयाँसम्म पर्ने डीडीसीले जनाएको छ । सरकारले किसानको मूल्य तोकेपछि सबै खर्च कटाएर उपभोक्ता मूल्य डेरीहरूले तोक्ने हो, अब उपभोक्तालाई दूधको मूल्य प्रतिलिटर १० देखि १४ रुपैयाँका दरले बढ्ने देखिन्छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










