Kathmandu Press

आशिफ र सन्दीपको साझेदारीमा नेपालको संघर्षपूर्ण जित 

मध्यक्रमका उत्कृष्ठ ब्याट्सम्यानहरु धमाधम आउट हुँदा आज पनि कुशल मल्लमाथि आशा गरिएको थियो । तर ३१ औं ओभरमा२३ रन बनाउँदै मल्ल आउट भएपछि नेपाली टोली संकटमा परेको थियो । 
आशिफ र सन्दीपको साझेदारीमा नेपालको संघर्षपूर्ण जित 

काठमाडौं, फागुन १९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । दुबई इन्टरनेशनल क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको हो ।

पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ औं ओभरमा भेट्टाएको हो । ब्याटिङमा अत्यन्त खराब सुरुवात गरेको नेपालका ओपनर कुशल भूर्तेल गोल्ेडन डग आउट भएका थिए । अर्का ओपनर आशिफ शेख अन्तिमसम्म टिक्दा नेपालले संघर्षपूर्ण जित सम्भव भएको हो । 

सुरुवाती र मध्यक्रमका ब्याट्सम्यानहरुले आज दोहोरो अंकमा रन बनाउन सकेनन् । भुर्तेल गोल्डेन डग आउट भएपछि मैदान प्रवेश गरेका ज्ञानेन्द्र मल्लले ६ रन मात्रै बनाए । मल्ल चौथो ओभरको पाँचौ बलमा आउट भएका थिए । 

ज्ञानेन्द्र मल्लको विकेट पतनपछि  आएका भीम सार्की पनि धेरैबेर टिक्न सकेनन् । ३५ बल खेलेपनि सार्कीले ८ रनमात्रै बनाए । उनी १५ औं ओभरमा आउट भए ।

त्यसपछि कप्तान रोहित पौडेल  र आरिफ शेख १ रनमै आउट हुँदा नेपाल झिनो लक्ष्य पछ्याएको नेपाल दबाबमा थियो । अघिल्ला खेलहरुमा मध्यम प्रदर्शन गर्ने दिपेन्द्र सिंह ऐरी आजको खेलमा ८ रन बनाएर पवेलियन फर्किए । मध्यक्रमका उत्कृष्ठ ब्याट्सम्यानहरु धमाधम आउट हुँदा आज पनि कुशल मल्लमाथि आशा गरिएको थियो । तर ३१ औं ओभरमा२३ रन बनाउँदै मल्ल आउट भएपछि नेपाली टोली संकटमा परेको थियो । 

कुशलको विकेटपछि मैदान आएका सन्दीप लामिछानेले आशिफसँग उत्कृष्ठ साझेदारी खेले । युएईविरुद्धको अघिल्लो खेलमा सन्दीपले राम्रो ब्याटिङ गरेपछि आजको खेलमा दुई विकेट बाँकी रहँदै सन्दीपलाई ब्याटिङमा पठाएको थियो । 

सन्दीप र आशिफकै साझेदारीमा नेपालले पपुवा न्युगिनीमाथि तीन विकेटले जितेको हो । आशिफले अविजित ८६ रन बनाए । १३० बल खेलेका आशिफले २ चौका र १ छक्का मात्रै प्रहार गरे । सन्दीपले ५० बलमा तीन चौकाको मद्दतमा अविजित ३५ रन बनाए । 

बलिङतर्फ पपुवा न्युगिनीका असद भालाले सर्वाधिक तीन विकेट लिए भने सेमो कमिया र सशी बउले दुईदुई विकेट लिए।

पहिला ब्याटिङ गरेको पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । पिएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाउँदा हिरी हिरीले ३१ रन बनाए । उराले ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे भने हिरीले ६३ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।

यस्तै, किप्लिन डोरिगाले २६, गाउडी टोकाले १५ र नर्मन भानुआले १४ रनको योगदान दिए। 

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। सोमपालले १० ओभरमा ३९ रन खर्चिँदा दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चिए। यस्तै, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान १ विकेट लिए।
 

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्