भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल पुगे रास्वपा कार्यालय

काठमाडाैं, फागुन १९ : नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बनेका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट मागेका छन।
राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ लामा र दीपक खड्का रास्वपाको कार्यालय पुगेका थिए। रास्वपा कार्यालयमा सो पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग भेट गरी राष्ट्रपतिका उम्मेदवार पौडेलले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरेका थिए।
राष्ट्रपति निर्वाचनका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेल साझा उम्मेदवार हुन।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










