कांग्रेसले वचन पूरा गर्छ, गठबन्धन पाँच वर्ष टिक्छ : गगन थापा
'एमालेका साथीहरु अहिले घरदैलो गरिराख्नु भएको छ। उहाँहरूको खुट्टालाई कसरत हुन्छ । निर्वाचित हुने रामचन्द्र पौडेल नै हो।'
काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आठ दलीय गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । आठ दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन पाँचै वर्ष टिक्ने बताएका हुन् ।
उनले गठबन्धनलाई पाँच वर्ष टिकाउन सबै दलको भूमिका महत्वपूर्ण हुने पनि बताए । गठबन्धन तोड्नका लागि अहिले पनि विभिन्न तत्वहरु लागेको बताउँदै महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताए ।
‘कांग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ। यो गठबन्धन पाँच वर्ष नै टिक्छ। कांग्रेसले धोका दिँदैन। कांग्रेसले दिएको वचन पूरा गर्छ। यो संसद्लाई जोखिममा जान दिँदैनौं। गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठवन्धन बचाउन पर्छ। कि गठबन्धन गर्नु हुन्न थियो अब यसलाई पटकपटक तोड्न मिल्दैन। वचन फेर्न मिल्दैन,’ उनले भने ।
उनले अबको राष्ट्रपतिलाई भरोसायोग्य बनाउनुपर्ने र गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल नै राष्ट्रपतिका लागि भरोसायोग्य रहेको बताए । ‘लोकतन्त्रप्रतिको मेरो विश्वास टुट्दैन भनेर १४ वर्ष जेल बस्नुभयो । संसद विघटन हुँदा रामचन्द्र पौडेल विपक्षमा उभिनुभयो । उहाँ चुनाव हारेपनि आफ्नो फाइदा हेर्नु भएन । यसलाई हेर्नुपर्छ,’ महामन्त्री थापाले भने ।
उनले आठ दलीय गठबन्धनमा रहेका दलहरुसँग एमालेले भोट मागेको कुरालाई केटाकेटी खेल भएको बताए । ‘एमालेका साथीहरु अहिले घरदैलो गरिराख्नु भएको छ। उहाँको खुट्टालाई कसरत हुन्छ । निर्वाचित हुने रामचन्द्र पौडेल नै हो,’ उनले भने ।
त्यस्तै राष्ट्रपति चुनावमा मत बदर हुँदा लाजमर्दो हुने भन्दै मतदातालाई फोटो भएको ठाउँमा स्वस्तिक छाप लगाउन पनि उनले आग्रह गरे ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










