युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री
राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।
काठमाडौं, फागुन १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन्। राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।
राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताए।
प्रधामन्त्री दाहालले भनेका छन्, 'परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ।' उनले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसासमेत गर्नुभएको छ।'परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तरहित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ', उनले शुभकामना सन्देशमा भनेका छन्।
यसैगरी परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताए।
उनले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँगै जोड्दै युवा शक्तिलाई विकास र समृद्धिको अभिन्न अङ्ग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्नु आवश्यक रहेकाे बताए।
युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो।अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










