Kathmandu Press

आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

उनले कानुनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति निर्माण गर्ने बताए।
आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताएका छन्।

उनले कानुनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति निर्माण गर्ने बताए।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले प्रधानमन्त्री दाहाल र नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई भेट गरी यही फागुन १५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ मा सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको आयोजनामाथि भएको आक्रमणका बारेमा जानकारी गराएको थियो ।

कुल ३५ मेगावाट क्षमताको न्यासिमखोला जलविद्युत् आयोजनाको निर्माणस्थलमा एक आपराधिक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको साङ्घातिक आक्रमणमा संलग्नलाई कानूनी कारबाही गर्न इपानले माग गरेको थियो।
 
विभिन्न बहानामा आयोजना प्रवर्द्धकलाई मानसिक र भौतिक भय, त्रास उत्पन्न गराएर अनुचित लाभ प्राप्त गर्न आयोजनास्थलमा आपराधिक गतिविधि शृङ्खलाबद्ध हुन थालेपछि इपानले प्रधानमन्त्रीलाई आज भेटेर यसबारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको सीता हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए।

प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्